Tuesday, July 14, 2009
एउटा प्राथमिक तहको विद्यालयमा कति विद्यार्थी अध्ययन गर्छन् धेरैको जवाफ ३ सय २ सय वा कम्तिमा एक सय हुनसक्छ। तर कास्कीको भलाम गाविसस्थित भलाम प्राथमिक विद्यालयमा योवर्ष एकजना पनि विद्यार्थी भर्ना भएनन्। विद्यार्थी भर्ना नभएपछि पाँच दशक पुरानो भलाम-१ स्थित एकमात्र सरकारी विद्यालय बन्द हुन पुगेको छ । उक्त विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा जम्मा ६ जना विद्यार्थी थिए। अघिल्लो शैक्षिक सत्रमा पनि कक्षा १ र २ मा विद्यार्थी भर्ना शुन्य थियो। कक्षा ३ मा ३ जना कक्षा ४ मा २ जना र कक्षा ५ मा १ जना मात्र विद्यार्थी थिए। उनीहरुका लागि तीन शिक्षिका र एक पियन खटिएका थिए।'जेठ १० गतेसम्मको भर्ना अवधिमा भलाम प्राविमा एकजना पनि विद्यार्थी र भर्ना भएनन्' कास्कीका जिल्ला शिक्षा अधिकारी बैकुण्ठ अर्यालले भने-'विद्यार्थी भर्ना शुन्य भएपछि विद्यालयनै बन्द गर्नुपर् यो।'कास्कीमा विद्यार्थी भर्ना शुन्य भएर सरकारी विद्यालय बन्द भएको यो पहिलो घटना भने होइन। नीजि बोर्डिङ स्कुलहरुको प्रतिष्पर्धाअनुसार चल्न नसक्दा विद्यार्थी भर्ना शुन्यमा झरेपछि लामाचौरस्थित सरस्वती प्रावि पनि ३ वर्षअघि बन्द भएको थियो।जिशिअ अर्यालका अनुसारयतिबेला कास्कीका अन्य १७ वटा प्राथमिक विद्यालय अतिकम विद्यार्थीको सूचीमा छन्। अर्को वर्ष अतिकम विद्यार्थी हुनेको संख्या दोब्बर हुने उनको अनुमान छ। २० भन्दा कम विद्यार्थी भर्ना भएका विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले अतिकम विद्यार्थीको सूचीमा राख्ने गरेको छ।उनले यस्तै अवस्था रहीरहे आगामी ५ वर्षभित्र कास्कीका सबै प्राविमा विद्यार्थी संख्या शुन्य हुने दावी गरेका छन्। गाउँ-गाउँसम्म नीजि बोर्डिङ स्कुलहरुको पहुँच सरकारी विद्यालयमा छोराछोरी पढाउनु हुन्न भन्ने अभिभावकको मानसिकता र स्तरिय शिक्षाका लागि विद्यालय स्वयंम्को कमजोरी लगायतले हरेक वर्ष सरकारी विद्यालयमा विद्यार्थी भर्ना उल्लेख्य रुपमा कमी आएको हो।भलाम प्रावि पनि नीजि बोर्डिङ स्कुलहरुकै चपेटामा परेको जिशिअ अर्याल स्वीकार गर्छन्। सकी नसकी ज्यालादारी गरेर भए पनि छोराछोरीलाई अरु सरह बोर्डिङ स्कुलमै पढाउनुपर्छ भन्ने अभिभावकको बुझाईका कारण यस्तो स्थिति आएको उनको ठम्याई छ। '७÷८ सय जनसंख्या रहेको भलाम-१ मा एकजना विद्यार्थी पनि भर्ना नहुनु विडम्बना हो' जिशिअ अर्यालले नागरिकसंग भने-'सरकारी स्कुलमा पढाउनु हुन्न भन्ने अभिभावकको गलत बुझाईले यस्तो भएको हो।'उनले कम विद्यार्थी भएका विद्यालयको निरीक्षण गरेर केहीलाई वरपरका विद्यालयमा गाभ्ने वा खारेज गर्ने तथा शिक्षक संख्या कटौती गर्ने प्रक्रियामा शिक्षा कार्यालयमा जाने जानकारी दिए। पोखरा उपमहानगरपालिकासँग जोडिएको भलाम गाविस-१ मा करिब १ सय २५ घरधुरी छन्। तीनमा लगभग ८ सय जनसंख्या छ। उक्त विद्यालय बन्द भएपछि त्यहाँका तीन शिक्षकलाई तत्कालका लागि अन्यत्र काज पठाईएको छ भने पियन विद्यालयको सम्पत्ति रेखदेखमा खटिएका छन्। प्रधानाध्यापिका मीना कुँबर पोखराको बैदामस्थित तालबाराही उच्च माविमा, अर्की शिक्षिका भद्रा लामिछाने पोखराकै गैह्रापाटनस्थित नविन उच्च माविमा र श्रीमाया गुरुङमहेन्द्र मावि घारमा काज खटिएका छन्। पियन ६४ वर्षिय दुर्गाबहादुर पौडेललाई विद्यालय खारेज वा अन्यत्र गाभ्ने प्रक्रिया नसकेसम्म सम्पत्ति रेखदेखका लागि तोकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। विद्यालयलाई अन्यत्र गाभ्ने वा खारेज गर्ने भन्ने सम्बन्धमा सारोकारवाला पक्षसँग छलफल गरेपछि मात्र निर्णय हुने जिशिअ अर्यालले बताए।विद्यार्थी बीनाको उक्त विद्यालय अहिले सुनसान पाटीजस्तो बनेको छ भने विद्यालय प्राङ्गण घाँसे मैदानमा परिणत भएको छ। २०१३ सालमा स्थापना भएको उक्त विद्यालयमा कुनै बेला अटाईनअटाई विद्यार्थी हुन्थे। गाउँको बीचमा रहेको एकमात्र विद्यालयमा ८-१० वर्ष अघिसम्म निकै विद्यार्थी रहेको स्थानीयबासी जुद्वबहादुर केसीले बताए। 'सबैलाई घरपायक विद्यालय थियो' ५८ वर्षिय केसीले भने-'आफु र आफ्ना छोराछोरीले यहीँ पढियो। अहिले गाउँका सबै नाति-नातीना बोर्डिङ पढ्न बजारसम्म जान्छन्।' सबैले आफ्ना छोराछोरी बोर्डिङ पढाउने चलनले यस्तो भएको बताए।भलामकै शंकर पौडेलले पनि 'बोर्डिङ कल्चरुका आँगनको सरकारी विद्यालयमा नपठाएर घरटाढाको बोर्डिङमा छोराछोरी पढाउने होड चलेको बताए। उनका अनुसार भलाम-१ बाट मात्र करिब दुई सय बालबालिका अध्ययनका लागि नजिकैको शहर पोखरा पुग्छन्। सरकारी विद्यालयको अवस्था बिग्रँदै जानुमा स्वयंम् विद्यालय व्यवस्थापन शिक्षक र अभिभावक जिम्मेवार रहेको उनको भनाई छ। 'शिक्षकहरुनै आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलका बस चढाएर विद्यालय आउँछन्' उनले भने-'अनि विद्यार्थी पढ्न आएनन् भनेर घाम तापेर फर्कन्छन्। आफैं सञ्चालक समितिमा रहेका अभिभावक पनि सरकारी विद्यालयमा पढाई राम्रो नहुने तर्क गर्दै सन्तानलाई बोर्डिङ पठाउँछन्।'
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment